प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद बैठकबाट बाहिरिँदा युट्युबरहरूबाट अनपेक्षित प्रश्नको सामना गरे।
संसद भवनको गेटैमा उभिएका विभिन्न युट्यबुरहरूले सिँढी झरिरहेका प्रधानमन्त्रीलाई प्रश्नमाथि प्रश्नको झटारा फ्याँके।
‘सामाजिक सञ्जाल विधेयक ल्याएर तानाशाही प्रवृत्तिमा जाँदै हो सरकार?,’ एक युट्युबरले सोधे, ‘सामाजिक सञ्जाल नियमन छाडेर नियन्त्रणमा जाँदै हो सरकार?’
संसदमा आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम थियो। केही सांसदलाई जबाफ दिएर त केही सांसदका सांसदका प्रश्नको जबाफ टारेर ओली बाहिरिँदै थिए। तर प्रधानमन्त्रीलाई युट्युबरहरूले प्रश्नमाथि प्रश्न गर्न थाले।
‘प्रश्नबाट भाग्नुभयो भन्ने कुरा आएको छ नि,’ युट्युबरले सोधे।
सिँढीबाट उत्रँदै गरेका ओलीले भने, ‘प्रश्न यहाँ गर्ने होइन, त्यहीँ (भित्रै) गर्ने हो।’
अर्का युट्युबरले त्यसमै थपे, ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू। जबाफ दिनुहोस् न।’
हिँड्दै गरेका प्रधानमन्त्रीले रोकिएर प्रतिप्रश्न गरे – आरोप सुन्दा राम्रो लाग्यो होइन?
युट्युबरले जबाफ दिए – ‘त्यस्तै देखिन्छ त बाँसबारी छालाजुत्तादेखि लिएर… ’
प्रधानमन्त्रीले फेरि सोधे – त्यस्तै देखियो?
युट्युबर बोले – ‘त्यस्तै देखियो।’
त्यसपछि भने प्रधानमन्त्री रोकिएनन्। बरू गाडी चढ्नेतर्फ लागे।
‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू?’, युट्युबरले सोधे, ‘जबाफ त दिएर जानुहोस्।‘
प्रश्नको झटारो अझै रोकिएन।
अर्का युट्युबरले सोधे- ‘हिटलर प्रवृत्तिमा जाँदै हो, सरकार?’
यसरी युट्युबरहरूबाट तानाशाह र हिटलरको आरोप लगाएपछि प्रधानमन्त्रीले संसद भवनमा प्रवेश गर्ने युट्यबुर र पत्रकारहरूबारे चासो देखाएका छन्।
पक्षधरता देखाएर आफूमाथि प्रश्न सोधिएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो दल एमालेका सांसदहरूसँग गेट उभिएर प्रश्न सोध्ने व्यक्तिहरूबारे चासो राखेका हुन्। संसद सचिवालयले पनि हिटलरको आरोप लगाउने पत्रकारबारे सोधीखोजी अघि बढाएको छ।
प्रधानमन्त्रीलाई हिटलर भनेर प्रश्न सोधिएको विषयमा नेकपा एमालेका सांसद सूर्य थापाले सोमबारको प्रतिनिधि सभा बैठकमै आपत्ति जनाएका छन्।
‘प्रधानमन्त्री प्रश्नोत्तरबाट बाहिरिँदा ‘तपाईं हिटलर हो’ भनेर प्रश्न गरियो’, थापाले संसदमा भने, ‘संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ सभामुख महोदय?’
उनले संसद सचिवालयको छवि कस्तो बनाउने भन्नेसँग मिडिया व्यवस्थापनको विषय जोडिएको बताए।
‘सांसदलाई सोधिने प्रश्नमा गालीगलौज तथा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाँइदैन,’ थापाले सोधे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन?’
‘मलाई नै बुम तेर्स्याएर तपाईं हनुमान हो भनेर प्रश्न गरियो’, सांसद थापाले थप भने, ‘सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन।’
संसद सचिवालयले अहिलेसम्म को युट्युबरले हिटलरको आरोप लगाउँदै प्रश्न सोधे भन्ने मेसो पाउन सकेको छैन। तर प्रधानमन्त्रीलाई तानाशाही प्रवृत्ति किन भनेर सोध्ने व्यक्तिबारे भने संसद सचिवालयले पत्ता लगाएको छ।
ओलीलाई तानाशाही प्रवृत्ति किन भनेर सोध्ने युट्युबर ‘युवा मन नेपाल’ च्यानलका किशोर कुमार श्रेष्ठ भएको खुलेको छ।
उनको युट्युबमा ‘दश लाख’ भन्दा धेरै सब्स्क्राइबर छन्।
मोरङ उर्लाबारी वडा नं ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार थिए। त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी नेकपा एमालेबाट। श्रेष्ठले उर्लाबारी वडा नं ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए। निर्वाचन भने कांग्रेसका बमबहादुर श्रेष्ठले जिते। श्रेष्ठले १ हजार ९ मत ल्याए।
तर उम्मेदवार बन्नुअघि देखि नै आफूले युट्युबमा कन्टेन्ट राख्न थालेको श्रेष्ठले सेतोपाटीसँग बताए।
‘मैले आफैले युट्युब चलाउन थालेको त धेरै भयो’, श्रेष्ठले भने, ‘१० लाख सब्स्क्राइबर छन्।’
श्रेष्ठले आफूले संसदमा भिडिओका लागि जान थालेको ५/६ महिना भएको बताए। तर आफूले प्रधानमन्त्रीलाई हिटलर नभनेको दाबी गरे।
‘प्रवृत्तिको विषयमा सोधेको हो,’ श्रेष्ठले भने, ‘संसदमा आउन थालेको ५/६ महिना भयो। बरू तालिमहरू भए राम्रो हुन्थ्यो।’
संसद
सचिवालयको गेटमा पछिल्लो समय ठूलो संख्यामा युट्युबरहरू पुग्ने गरेका छन्।
उनीहरूले सांसदहरूलाई पछ्याउँदै पछ्याउँदै प्रश्न गर्ने गरेका छन्।
0 Comments